म नयाँ व्यवसायी ! सक्छु होला र नेपालमै टिक्न ?
हेटौंडा । मैले र मेरो साथीले मिलेर एउटा कम्पनी दर्ता गर्ने सोच बनायौं। व्यवसाय सञ्चालन गर्नका लागि एउटा भाडो बनाउनु पर्ने थियो, त्यसैले हामी कम्पनी दर्ता गर्नको लागि लाग्यौं। एक दिन हामी दुबै मिलेर कम्पनी खोल्नका लागि आवश्यक कागजातहरू मिलाएर दर्ता गर्न कार्यालयमा पुग्यौं। त्यहाँ पुगेर थाहा भयो कि अझै कागजातहरू पूरा थिएनन्। अहिले अनलाइनको युग भएकाले म्यासेन्जर, कल र व्हाट्सअपको माध्यमबाट घरबाट अपुग कागजातहरू जुटायौं। कम्पनी दर्ताको लागि केही रकम पनि चाहिने थियो , त्यो रकम हामीले बुझायौं। दुबै जनाको सल्लाहअनुसार कम्पनी सञ्चालन गर्दा के कति खर्च आउन सक्छ भन्ने कुरा मिलाएर तिर्ने निर्णय गर्यौं।
बिहान कार्यालय खुल्ने समयमै हामी दर्तामा गर्न गयका थियौं । दिउँसोको ३ बजेतिर बल्ल बल्ल काम अन्तिम चरणमा पुग्यो र कम्पनी दर्ता एक दिनमै सक्यौं। तर, अरु स्थानहरूमा पनि जानुपर्ने रहेछ। नयाँ नयाँ भएकाले हामीलाई त्यति ज्ञान थिएन।
समय सकिएको कारण अर्को दिन काम पूरा गर्ने निर्णय गर्यौं। हामी एउटा पशुपालनसम्बन्धी कम्पनी सञ्चालन गर्न लागेका थियौं। अर्को दिन फेरि दर्ताका कागजात लिएर दर्ता कार्यालय पुग्यौं। त्यहाँ दर्ता गर्नका लागि सञ्चालकको विवरण र अन्य कागजातहरूको आवश्यकता थियो। हामी दुई जना सञ्चालक भएकाले पद बाँडेर लिएर गयौं। त्यसपछि दर्ता कार्यालयबाट कर कार्यालय पनि जानुपर्ने रहेछ, कम्पनीको भौचर बुझाउन। दर्ता कार्यालयमा ज्यादा समय लागेन, लगभग १-२ घण्टामा दर्ता सम्पन्न भयो। त्यसपछि हामी कर कार्यालयतर्फ लाग्यौं। कर कार्यालयमा लामो लाइन थियो, हामी लाइनमा बस्यौं। गर्मीको समय थियो। पसिना पुस्दै, पालैपालो लाइनमा लाग्यौं। धेरै समय पछि कागज भन्दै भोलि आउन हामीलाई सुझाए, हामी अर्को दिन आउने निर्णय गर्दै आफ्नो घर फर्कियौँ।
अर्को दिन बिहान छिटो आइपुगेका कारण हामीलाई अलि सहज भयो। कार्यालयमा त्यति भिड नभएका कारण काम अलि चाँडै बन्ला जस्तो भयो। कागजातको काम छोटो समयमै सकियो। त्यस दिन हामीले सबै कागजात प्रक्रिया पूरा गर्यौं र कम्पनी दर्ता सफलतापूर्वक सम्पन्न गर्यौं। कम्पनी सञ्चालन गर्दा कर बुझाउनु पर्ने कुरा थाहा पाइयो। हामीले सो कर बुझायौं।
कम्पनी भर्खर दर्ता गरिएको कारण कारोबार हुने कुरै भयन हामीले असार २७ गते दर्ता गरेको कारण ३ दिन अगाडि नै दर्ता गरिएछ । ३ दिन अगाडि दर्ता गरिएको भन्दै १ बर्षको अडिट गर्न सुझाईयो । र हामी १ बर्षको अडिट गर्न बाध्य भयौं । शून्य खाता भएको भए पनि, कर बुझाउनु पर्ने बाध्यता थियो। कहिलेकाहीं व्यापार नगरी, आफ्ना पैसाबाट कर बुझाउनु पर्नाले मन दुःखी हुने हुन्थ्यो। अहिले पनि कर तिर्नु पर्ने कुराले पिर परिरहेको छ। कम्पनी दर्ता भएको कहिले हो करोबार प्रकिती के हो ? कस्तो हो ? केही मूल्याकंन नभई कर तिर्नुपर्ने प्रणाली ३ दिन अगाडि दर्ता गरिएको कारण १ बर्ष को अडिट गर्नुपर्ने र कर तिर्नुपर्ने प्रणाली देखेर हामी चकित पर्यौ । अनि सोच्यौ खर्बौ लगानी र करोडौं कर तिर्नु पर्ने हरुलाई खुलेयाम कम्पनी चलाउन पाउनु कस्तो नियम र कस्तो परिपाटी हो हामी दङ्ग पर्यौ ।
कहिलेकाहीं लाग्छ, कमाई नभए पनि सरकारले कर तिर्न दबाब दिइरहेको छ। आफू देशमै केही गर्न चाहेका थियौं, तर यहाँका झन्झटले मन थाक्दै गएको छ। यदि सरकारले नयाँ व्यवसायीलाई सहज मार्गदर्शन दिन सकेको भए, नेपालका धेरै युवा विदेश जान नपर्ने थिए। अहिले देशमा धेरै युवा विदेश जानको लागि बाध्य छन्। आधा भन्दा बढी युवा विदेश पलायन भएका छन्। धेरै व्यवसायीहरू घाटा उठाएर व्यवसाय बन्द गर्न बाध्य भएका छन्। नेपालका व्यवसायीहरू विदेश जान्छन्, किनकि यहाँ मुनाफा छैन।
देशमा अहिले निराशा नै निराशा छ। अहिले बालबालिकाहरू जन्मजात पासपोर्ट लिएर जन्मन्छन भन्दा फरक पर्दैन। विद्यार्थीहरू +२ पास गरेपछि कुन देश जाने भन्दै सर्टिफिकेट हातमा बोकेर कन्सल्टेसी धाउँछन्।
नेपालबाट काम खोज्दै हरेक दिन औसत २ हजार २ सय १६ युवा विदेशिने गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ सात महिना (साउन–माघ) सम्म कुल ४ लाख ६५ हजार ५ सय ८ युवा विदेशिएका छन् । त्यसै गरि २०८०–८१ मा मात्र १ लाख १२ हजार ५ सय ९३ जनाले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएको जनाइएको छ।
पढेलेखेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्ने बहानामा पश्चिमा मुलुकहरू र जापानको यात्रातर्फ लाग्छन् । भने कम पढेकाहरू खाडी मुलुकतिर भासिन्छन् । यसरी युवा र व्यवसाय जगतमा आएको नैरास्यताले गर्दा देश जर्जर बन्दैछ।केहि गरौँ भनेर स्वदेशमै उद्धन गर्न चाहनेहरूको लागि पनि देशमा वातावरण नै छैन। के गरौँ भनेर सुरु गरेकाहरू पनि अत्तालिएर विदेशै दौडिराखेका छन्। यसैगरी युवा बाहिरिने हो भने देशमा रहन्छन् त केवल अशक्त असहाय र वृद्ध अनि बालबालिका । यसर्थ सरकारले उद्यमी र व्यवसायीलाई ध्यान दिनुपर्ने बेला आएको छ। अनि मात्र हाम्रा देशका नेताहरूले भनेजस्तै समृद्ध नेपाल सुखी नेपाली बन्नेछन् । नत्र भने समृद्ध देश सुखी नेपाली नारामै सीमित रहने प्रष्ट छ ।










