इन्द्र बस्नेत: संघर्ष र साहसको कथा
ईन्द्र बहादुर बस्नेत एका बिहानै झिस्मिसेमा उठ्छन् । सबेरै उठ्नु बस्नेतकाे बानी हो । बिहान उठ्ना साथ उनी हात मुख धाेएर भान्सामा चिया बनाउन थाल्छन् ।
एउटा खुट्टा किर्तिम हालेका बस्नेत जिबनमा सपाङ्ग मानिस झै सहासि छन् । किर्तिम खुट्टाकै मद्दतले घरकाे सामान्य कामदेखि अटो सम्म चलाउछन् उनी ।
हेटौडा उपमहानगरपालिका वसामाडी-०३ नर्सिङ डाँडा निवासी ४२ बर्सिय इन्द्र बस्नेतका दिनहरू कहिल्यै सहज बितेनन्। उनि बि.सं. २०५९ सालमा सशस्त्र प्रहरीमा भर्ना भए । सशस्त्र प्रहरीका रूपमा काम गर्दै गर्दा उनले जीवनको विभिन्न रंगहरू अनुभव गरे। तर उनले देशमा चलिरहेको जन युद्धको चपेटामा परेर २०६३ सालमा जागिर छोड्नुपर्यो। त्यसपछि उनले ट्रक चलाउन सिके, जीवनको नयाँ मार्गमा पाइला टेके ।
तर , काठमाडौँबाट हेटौडा फर्कंदै गरेको एक दुर्घटनाले उनका सपनाहरूलाई ध्वस्त पारिदियो। दुर्घटनामा उनले आफ्नो खुट्टा गुमाए, जसले उनको जीवनको गतिको धार नै बदलिदियो। २०७४ साल साउन २७ गते धादिङ जिल्लाको जोगीमारामा भएको दुर्घटनाले उनको जिबन तहस नहस बनायो । उनका सपनाहरू केही बेरमै सिसा जस्तै फुटे।
बस्नेतलाई शारीरिक अपाङ्गता सँगै जीवनप्रति बैराग लाग्न थाल्यो।” मर्नुभन्दा बौलाउनु निको ” भनेझैँ अपाङ्गतै भएपनि उनले आफूलाई सम्हाले। परिवारको जिम्मेवारी र बुढेसकालका बाबु, सँगै उनका बालबच्चाहरूको भविष्यका लागि उनले हिम्मत हार्न सकेनन् , बाँकी रहेको जीवनमा केही गर्नुपर्छ भनेर साहस बटुले ।
बीमा बाट आएको दुई लाख र ट्रक साहुले दिएको एक लाख रुपैयाँको सहायताले उनले किस्तामा अटो निकाले, अनि चलाउन थाले। एउटा खुट्टा नहुँदा पनि उनले जीवनका चुनौतीहरूलाई स्वीकार गरे। मानिसहरूले उनको अटो चढ्न हिच्किचाउने गरेको उनले गुनासो पोखे। बस्नेतले ती कुराहरुको वास्ता नगरी आफ्नो कामलाई निरन्तरता दिराखेको बताए । “अटो चलाएर दिनमा पन्ध्र सय देखि दुई हजार सम्म कमाउँछु सोही रकमबाट आफ्नो परिवारको गुजारा चलाइराखेको छु” उनले भने।
“अटो चलाउन सवारीचालक अनुमतिपत्र चाहिन्छ, हामी जस्ता अपाङ्गता भएका व्यक्तलाई सवारीचालक अनुमतिपत्र दिने प्रावधान रहेनछ। मैले धेरैपटक प्रयास गरे तर लाइसेन्स पाइन। ट्राफिक प्रहरीहरूले मेरो अवस्थाको कारण सहानुभूति देखाएर अहिलेसम्म छोडिराखेका छन्।” उनले पिडा पोखे ।
“कैयौँ पटक सवारी चालक अनुमति पत्र बनाउँछु भनेर म यातायात गईसकेको छु। कर्मचारीहरूले अपाङ्गता भएका व्यक्तिलाई दिने प्रावधान नभएको बताउँदै आफुहरुले नियम बिपरित बनाईदिए जागीर नै जान्छ भन्दै उल्टो गुनासो गर्छन् सुन्छु अनि फर्कन्छु ” । उनले निन्याउरो अनुहार बनाउँदै थपे ।
बस्नेतलाई अब अटो चलाउन छोडेर कपडा पसल गर्न मन छ। अटो चलाएर हिंड्न अलि गाह्रो हुने र अटोमा भनेजस्तो कमाई नहुने हुँदा उनलाई कपडा पसल खोल्न मन लागेको बस्नेत सुनाउछन् । इन्डियाबाट सस्तोमा कपडा ल्याएर एउटा कपडा पसल खोलि थोरै नाफामा कपडा बेचेर बस्ने उनको ठुलो रहर छ रे।
बस्नेतको परिवारमा ८९ वर्षीय बुवा ,श्रीमती र एक छोरा छन्। छोरा कक्षा १२मा अध्ययनरत छन्। ८९ वर्षीय बा विगत एक वर्षदेखि खाटमै छन् । खुट्टा नचल्ने समस्या भएको कारण बा लाई खाटमै दिशापिसाब गराउनुपर्छ । ईन्द्रको श्रीमती गृहणी हुन् उनको कुनै कमाई छैन। चारजना परिवार पाल्नका लागि आफूलाई काम गर्नैपर्ने बाध्यता रहेको बताए । इन्द्र थलिएर बसेको बेला उनको घरको चुलो बल्न हम्मेहम्मे परेको सम्झदै बस्नेत भक्कानिए। यसर्थ उनलाई अपाङ्गताको बावजुद पनि कुनै न कुनै पेशा अँगालेर घर चलाउनैपर्ने बाध्यता छ।
बस्नेतको संघर्ष यहाँ रोकिन्न। उनी सामाजिक कार्यमा पनि संलग्न छन्। हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा रहेको बाल उज्ज्वल टोल विकास समितिका अध्यक्षका रूपमा उनले आफ्नो समुदायका लागि काम गर्दै आएका छन्। राष्ट्रिय अपांग महासङ्घ नेपालमा आवद्ध भयर उनले सीप सिक्दै अन्य अपाङ्गता भएका व्यक्तिहरूसँग आफ्नो अनुभव साटिरहेका राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले जानकारी दिए । यसरी बस्नेत संघ-संस्थाहरूमा जोडीएर विभिन्न कार्यक्रमहरूमा सहभागी भई अरूलाई जीवनका चुनौतीहरूसँग जुद्न सिकाउँदैछन्।
अपाङ्गता जीवनको अन्त्य होइन, यो त नयाँ शुरुआत हो। कठिनाइहरूमा हार नमान्न र जीवनको प्रत्येक पलमा सकारात्मकता खोज्नुपर्ने कुराको उनी एक ज्वलन्त उदाहरण हुन्। संघर्ष र साहसले बनेको यो कथा उनको मात्र होइन, हामि सबैको हो—हिम्मत नहार्ने र जीवनलाई नयाँ दिशामा लैजाने एक प्रेरणा हो ।










