परदेशिएका नेपालीको पीडा: दशैं त नआए पनि हुन्थ्यो
देशको अवस्था र परिवारको जिम्मेवारी लिएर जब म घरबाट बाहिर बिरानो मुलुकमा आफ्नो भविष्य खोज्नलाई गहभरि आँसु र मनभरि चोट बोकेर साथीभाई परिवार र आफन्त सङ्ग टाढा भएको पनि दुई बर्ष बितिसकेछ । जब म घरबाट चाडपर्वकै मुखमा आफू जन्मिएको ठाउँ , अनि देशलाई छाडेर रङ्गिन सपना बुन्दै दशैंकै मुखमा मन गाँठो पारेर त्रिभुवन विमानस्थल बाट भित्र पसे अनि आँखाबाट आँसु झरेको पत्तै पाइन् , मनमा धेरै कुरा खेल्न थाल्यौं सबैको माया भुलेर परदेश लाग्दाको पिडा धेरै दुख लाग्ने रहेछ ।
आज पनि त्यहि क्षण सम्झदै बितिरहेको छ मेरो दिनहरु
अरु दिन जस्तै आज पनि बिहानै डिउटि जान लाई कोठामा तयार हुदै थिएँ तर आज त घटस्थापना पो रहेछ ।
आज बाट नेपालमा दशैंको चहलपहल सुरु भए सङ्गै हामि परदेशीको मनमा सन्नाटा छाएको छ । साथिभाइले घर जाँदै गरेको फोटोमा ट्राभलिङ टु नेपाल लेख्दा कुन चाहि परदेशीको मन रुन्न होला र ? आफ्नो परिवार आफन्तसँगै टिका थाप्दै आशिर्वाद लिन कसलाई मन हुन्न होला र ? तर मन हुदाहुदै पनि आफुले सोचेजस्तो कहाँ हन्छ र ? दशैं तिहार जस्तो चाडपर्वमा आफ्नाहरु सँङ टाढा बस्न बाध्य छौ हामि नेपाली
परदेश धेरैको रहर हैन बाध्यता हो । कोहि कामले ,कोहि पढाइले आफ्नो देश छाडि भारत , खाडि मुलुक अनि युरोपियन देशसम्म पुग्छन् चाहे कामको लागि होस् , चाहे पढाइको लागि दशैं तिहार जस्तो चाडमा घरबाट टाढा हुदाँ सबैको मन पक्कै रुन्छ , बा( आमा दाजुभाइ ,दिदीबहिनी हरुको साथमा नहुदा दशैं दशैं जस्तो बन्दैन दशा बन्छ । अनि यो मनले भन्छ हामि परदेशीलाई यो चाडपर्व कहिल्यै नआइदिएको भए पनि हुन्थ्यो ।
दशैं नजिकिए सङ्गै घरको सम्झनाले धेरै सताउछ। दशैंको टीका जमरा सम्झदा मन रमाउँछ, अनि फेरि जान नपाउने कुरा सम्झदा दुख लाग्छ । दशैं आउनै लाग्दा गाउँघरमा माहोल फरक हुन्छ रातो माटो र कमेरो ले घर पोतिन्छ । पिङ हाल्न डोरि बाटिन्छ। नयाँ लुगा सिलाउन दिन्छन् , आहा सम्झदा पनि मनै कस्तो फुरुङ्ग हुन्छ । त्यहि क्षणहरु आज पैसा कमाउन परदेशीएको म परदेशीले सम्झदा मनमा पिर पर्छ ।
सम्झना र याद त त्यो बेलाको आउछ जति बेला दिदिबहिनी घर सजाउन लाग्दा हामी टाढा बाट रातो माटो लिन जानेको लाइन धेरै हुन्थ्यो, कति रमाइलो हुन्थ्यो त्यो दिन जतिबेला हामी गाउँघरमा सबै भेला भएर मिरमिर उज्यालोमा सबै गाउँले दाजुभाइ अनि दिदिबहिनी हरु सँग कुरागर्दे गित गाउँदै घरदेखि दुई घण्टाको उकालो चढ्दा कति रमाइलो हुन्थ्यो । अहिले त परदेशमा छु , आफुलाई न दशैं न तिहार । मनमा धेरै सम्झनाको भेल छ, अनि त्यहि सम्झनामा डुबेको परदेशीको बेहाल छ ।
प्रदेशीहरुको दैनिकी लगभग उस्तै जस्तो हुन्छ भारी बोक्न पालिएको गधाको जस्तो । घाटीमा काम र जिम्मेवारको घण्टी झुन्डाएर घाम झुल्के देखि घाम नअस्ताउदा सम्म बर्खामासाको जोत्ने गोरुले जस्तो दाहीरहनुपर्ने । भारी बोक्नकै लागि पालेको गधाको जस्तो जिन्दगी । बढ्दो बेरोजगारी, महँगी र जिम्मेवारीले थाप्लोमा थिचेपछी खुसी किन्नै को लागि खुसी धितो राख्नुपर्ने गरिब देशमा जन्मलिनु पनि दुष्कर्म रहेछ । यस्तो जिन्दगी जिउने रहर कसैलाई हुदैन सबै परदेशीहरु को आआफ्नो बाध्यता र परिस्थिति छन् । घर परिवारको सुखको लागी एक मुठी खुसी किन्न आफ्ना इच्छा आकांक्षाहरुको हत्या गर्दै कहिल्यै नआउने भोलिको लागि सुन्दर सपनाहरूको माला उनेर कल्पनामा रमाउनु पर्ने । रहर मनमा कति हुन्छन् कति तर ती मनका रहर मनैमा राख्ने रहर कुन प्रदेशीहरुलाई हुन्छ र ?
जसरी एकाबिहानै चारो खोज्न निक्लेको चरी साँझ परेपछि गुडमा फर्किन्छ त्यसै परदेशीहरु पनि उज्वल भविस्यका सपनाको मालाहरु उनेर चरीले चारो खोजे झैँ प्रदेशीहरु उज्ज्वल भविस्य चारोको जोहो गर्दै हुन्छ प्रदेशमा । भोलिको उज्ज्वल दिन किन्नको लागि आजको दिनमा पसिनाको व्यापार गर्दै गर्दा घर गाउमा दशैं र तिहार आउँदा मनमा अतितमा भएको दशैंले भने केही हर्षका सिरेटोले छुने रैछ । कता कता मन खुसी हुन्छ अनि मनकी चरी उढेर घरको त्यो आगनीमा पुग्छ, अनि अतितका दिन सम्झिदै कल्पना मै दसैं मनाएको पत्तै नहुँदोरहेछ। र अर्को पटकको दशैंमा घर जाने सपनाको माला उन्दै दशैं सकिन्छ । यस्तै पीडा बोकेर बिगत ८ बर्षदेखि मेलेसियामा काम गर्दै आएका मकवानपुर बकैया-७ हात्तीखोला घर बताउने रामचन्द्र फुँयाल ले दशैं तिहार र चाडपर्वमा घर जान नपाएको र परिवार सँग बस्न नपाएको भन्दै आँखा भरि आँसु पार्दै भावुक हुन थाले , उनी भन्छन धेरै बर्ष भैसक्यो परिवारको साथमा बसेर दशैं तिहार नमानेको देशको अवस्था र परिवारको जिम्मेवारीले परदेश पठायो चाडपर्व नजिक आउदा मन भक्कानिन्छ धेरै नरमाइलो लाग्छ, गहभरि आँसु पार्दै रुन थाले ।
अन्त्यमा बडादशैंको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना १ युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न लागि सबै राजनीतिक शक्तिमा प्रेरणा मिलोस् ।