विदेशिनु रहर कि बाध्यता ?

अशोक बजगाँई
२०८१ भाद्र २१, शुक्रबार १८:५१

लगातार केही दिनदेखि परेको भदौरे झरीले भदौको गर्मीलाई केही शीतलता दिँदै थियो। रेनकोटले धान्नै नसक्ने गरी परिरहेको भारी वर्षाबाट बच्न म आफ्नो मोटरसाइकललाई घरमै राखी माइक्रोमा जाने निर्णय गरे। मलाई मेरो पुरानो कार्यालयसम्म पुग्नु थियो। जहाँ मैले लामो समय काम गरेको थिएँ। म लगातार परिरहेको भारी वर्षाबाट बच्न कालो छाता ओडेर सडक किनारामा गाडीको पर्खाइमा उभिए। भारी वर्षाले हिलाम्मे सडक अनि त्यही सडकमाथि गुडिरहेका गाडीहरूको तातीलाई नियाल्दै माइक्रो कहिले आउँछ भन्दै म आँखा तन्काउँदै थिए। मेरो केही मिनेटको पर्खाई पछाडि माइक्रो आइपुग्छ। माइक्रोका सहचालक गराउँदै थिए।

“माइतीघर, मण्डला ,बानेश्वर ,कोटेश्वर, तिनकुने “।
दाइ जाने हो ?
मैले टाउको हल्लाएसँगै गाडी रोकियो ।
गाडीमा ड्राइभर पछाडिको उल्टो सिट खाली रहेछ,म त्यही गएर बसेँ।
गाडी केही पर नपुग्दै एउटा हँसिलो मुद्रामा सडक किनारामा उभिएका युवाले गाडी रोके।
“दाइ अलि पर जानुस् न ” सँगै म अलि पर सरिदिएँ।

मुहारमा चमक अनि आँखामा कैयौँ सपना बोकेर खुसी मुद्रामा गाडीमा चढेका उनलाई देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो उनले जिन्दगीमा ठूलै कुरा जिते अथवा ठूलै कुरा प्राप्त गरेका छन्।

त्यत्तिकैमा गाडीचालक निरको सिटबाट एउटी युवतीको आवाज आयो
“दाइ तपाईँ पनि यही गाडीमा हुनुहुन्छ ” ?
उनको प्रश्न आउने बित्तिकै मसँगै बसेका ती खुसीदेखिने युवकले तुरुन्तै जवाफ फर्काइ हाले।
“अँ म पनि यही गाडीमा छु नि “।
युवतीको फेरि प्रश्न सुनियो।
“दाइ तपाईँको फ्लाइट कहिले छ नि ” ? अनि सामानहरू किन्नुभयो त ?
फेरि युवकले खुसी हुँदै भने “मेरो दशैं अगाडि नै फ्लाइट हुने भयो नि,प्राय त सामान किनिसके अलिअलि सामान चाहिँ किन्न बाँकी छ” ।

यसरी उनिहरु गफिएको सुनिरहँदा मैले थाहा पाएँ। उनलाई त जापानको भिसा पो लागेको रहेछ। उनी स्टुडेन्ट भिजामा जापान पढ्न जान लागेका रहेछन्।
लामो समयको पर्खाइ र जापानीज भाषाको अध्ययन पश्चात उनको भिसा लाग्दा उनी अत्यन्त हर्षित भएका रहेछन्।

फेरि युवतीले प्रश्न थप्छिन ,” दाई पैसा साट्नुभयो त? अनि कहाँ साट्नुभयो नि ? म पनि साट्नु भनेको ” ।
“बागबजारमा साटे नि , त्यहीँ गएर साटन”।
“अनि के के लान पाइन्छ नि दाई ” ?

यस्तै यस्तै वार्ताहरू लामै चलिरहे। म चुपचाप सुनिरहे
उनीहरू बीच चलेको त्यो वार्ता र देखिएका ती खुशीहरुले मलाई मेरो विगतलाई याद दिलायो।
कुनै समय मेरो पनि त जापान जाने नै ठूलो रहर थियो। जापान जान भनि जापानिज भाषा अध्ययन गर्न गएको पनि थिए।
केही वर्ष अगाडि मेरा साथीहरू पनि यसैगरी जापानिज भाषा पढेका थिए। साथीहरू जापान जाने धेरै पैसा कमाउने अनि जीवन समृद्ध र खुसी बनाउने सपनाहरू म सँग साट्थे अनि मेरा सपनाहरू पनि उनीहरूसँग साट्थेँ।

जापान गएर धेरै पैसा कमाउने र आफ्नो परिवार आफ्नो जिन्दगी समृद्ध बनाउने सपना बोकेर पढिरहेको साथीलाई भिजा लागेछ।
उसले खुसी हुँदै आएर सुनायो। “ओइ मलाई भिजा लाग्यो नि यार”। ” अब म जापान जान्छु धेरै पैसा कमाउँछु अनि आफ्नो जीवन समृद्ध बनाउँछु “।

उसको मुहारमा देखिएका ती खुशीहरू र आँखामा झल्किएका सपनाहरू प्रष्टै बुझ्न सकिन्थ्यो।

नभन्दै केही दिन पछाडि सुटकेस बोकेर ऊ म भएको ठाउँमा आयो। हामीसँग बिदा माग्दै उ, एयरपोर्टतर्फ लाग्यो र जापान गयो।
उ गएको केही दिन कुरा राम्रैसँग भयो। त्यसपछाडि ऊ काममा बिजी हुन थालेछ। हामीबीच कुराकानी पातलिन थाल्यो।

एकदिन म कामबाट फर्किँदै थिए। बाटोमै रहँदा मोबाइलको घन्टी बज्यो। मैले हतपत पकेटबाट मोबाइल निकालेर कल रिसिभ गरे।
“ओइ कहाँ आइपुगिस् ? चिया खान आइज “।
म हुन्छ भन्दै सरासर साथीहरु भएको ठाउँतिर चिया खान गएँ।
चिया पिउँदै हामी नेपालमै बसेका केही साथीहरू गफिँदै थियौँ। त्यतिकैमा एउटाले सुनायो, विदेशी लाहुरे अनलाइन आयो फोन गर्छु नि है उसले भन्यो।
जापानमा गएर साथीले धेरै कमाउन थालिसक्यो होला, पढाइ राम्रो गर्दै होला, राम्रो प्रगति गर्दै होला मनमा सोच्दै भने “कल गर्न गरिहाल कुरा गरौं”।
मैले यति नभन्दै उसले कल गर्यो र उताबाट रिसिभ भयो पनि।
हामी खुसी हुँदै सोध्यौँ। “ओइ के गर्दैछस् ? कस्तो हुँदैछ ?काम पाइस् त ? अनि पैसा नि कमाउन थालिस होला नि है ? ” हाम्रो लगातार प्रश्नहरूमाथि प्रश्न थपिँदै गए।
ऊ केही नबोली धेरैबेर हाम्रो प्रश्नहरु सुनिरह्यो। अनि ” के हुनु यार पेट पाल्ने जोहो गर्दैछु”। “नेपालमा काजी बनेर बसेको यहाँ आएर पाजी भएको छु” । यति भनेसँगै उसले कल राख्छु नि है म बिजी छु पछि कुरा गर्छु भन्दै कल राख्यो उसका पछाडिका दृश्य सुपरमार्केटका देखिन्थे ।

उसले त्यति भनेर कल राखेसँगै हामी पनि चिया पिएर आ-आफ्नो घर फर्कियौं।
साथीले भनेको त्यही कुराले मनमा बेचैनी भइरहेको थियो। किनभने आफ्नो पनि रहर र सपना त जापान नै जानु थियो।
मनमा अनेक कुराहरू खेल्न थाले। साँच्चिकै विदेशमा काम गर्न निकै गाह्रो हो त ? हजारौं प्रश्नहरू मनमा उभिन थाले यही कुराले मनमा भएको बेचैनीलाई मैले शान्त पार्न सकिन। आफ्नो मन शान्त गर्नकै लागि भएपनि जापानमा रहेका अन्य साथीहरूसँग कुराकानी गरे। केही व्यक्तिलाई छोडेर उनीहरूको पनि समग्रमा जवाफ उस्तै थियो।

अनि बल्ल बुझे विदेश साँच्चिकै गाह्रो पो रहेछ। केही समय पछाडि फेरि उही साथी अनलाइन आयो हतारिँदै मैले उसलाई कल लगाई हाले।
“ओइ के गर्दैछस् त ? खाना खाइस्” ?
“छैन नि यार म त १७-१८ घण्टादेखि ड्युटी गर्दैछु। अब गएर खाने यही केहि खाजा खाए, हेर्न फुर्सदै हुन्न यार तिमीहरुसँग कुरा गर्न” उसको जवाफ थियो।
मैले हतारे नप्रश्न गरिहाले। “ओइ म पनि जापान आउँ भनेको के गर्नु यार गाह्रो छ भन्छौ तिमीहरु”
“नआइजो यार यहाँ आउने पैसाले त त्यही बाख्रा पालन गर कुखुरापालन व्यवसाय गर यहाँ गर्ने दुःखले त सुन फल्छ त्यहाँ सुन फल्छ बुझिस ” उसको उत्तर थियो।
“म पनि यहाँ त्यत्रो पैसा लगानी गरेर नआएको भए हुने त्यही पैसा त्यही लगानी गरेर पढ्दै गरेको भए अहिले के के गरिसक्थे होला” उसले थप्छ, “अनेक सपना बोकेर जापान आइयो न आफू खुसी बन्न सकियो न परिवारलाई नै खुसी राख्न सकियो”। “त्यतिका पैसा लगानी गरेर आइहाले न नेपाल फर्कने नै सक्छु न यहाँ बस्न नै”। “म त आइहाले तिमीहरू नआइजो” ,उसको जवाफ थियो।
” ऋण गरेर १५ /१६ लाख खर्च गरेर आयो यहाँ कमाई नहुने होइन हुन्छ ,कलेज फि तिर्न कोठाभाडा तिर्न खान गर्दा पैसा सकिन्छ। ऋण गरेर आएको पैसा कसरी तिर्ने ” उसले गुनासो पोख्यो।” सोचेर देखेजस्तो सजिलो छैन यार विदेश,लैलैमा नविदेश्यौँ ” उसको जवाफ थियो ।

साथी त्यसरी जापान गएको अनि यस्ता वाचितहरु भएको पनि आठ दश वर्ष बितिसकेछ। अनि ऊ नेपाल नफर्केको पनि आठ दश वर्ष बितिसक्यो।
अहिले पनि ऊसँग कहिलेकाहीँ अनलाइनमा कुरा हुन्छ। आठ दश वर्ष बितिसक्दा पनि फोनमा कुरा हुँदा मेरा कुराहरू उस्तै हुन्छन्
“ओई पि आर पाइस त ? कति कमाइस्? अनि घरजग्गा जोडिस् होला नि”?

अहिले भने साथीले गाडी किनेछ बस्ने फ्ल्याट लिएछ
“प्रगति त भएछ नि यार” मैले प्रश्न गरे।
“के का प्रगति हुनु यार गाडी चढ्यो मोबाइल किन्यो फ्ल्याट लिग्यो सबै किस्ताबन्दीमा अहिले सोच्दा पो यसो बुझ्दै छु त किस्ता तिर्दा तिर्दै म त यही बुढो पो हुने भए”।” यिनीहरूले त हामीले कमाएको पैसा नेपाल लान पो नदिने रहेछ। अनेक बहानामा यही हामीलाई अल्झाएर खर्च पो गराउने रहेछ” उसको जवाफ थियो।
“अनि परिवारलाई पैसा पठाउँछस् होला नि ?खुसी होला नि तेरो परिवार”? मैले प्रश्न गरे ।

“के का पैसा पठाउने यार ,आफ्नो किस्ता तिर्दैमा ठिक छ”। अनि अलिअलि बचेको पैसा खाना र कलेजमा तिर्दै ठिक ” उसको जवाफ थियो। फेरि उसले थप्यो “नेपालमै बसेको ठिक यार यहाँ पैसा गाडी भएर के काम मेहनत गर्यो किस्ता तिर्यो। न परिवारसँग बसेर खुसी साट्न पाइन्छ न केही एक्लै बस्यो एक्लै खायो एक्लै जियो। यस्तो जिन्दगी के जिन्दगी “?
” तैले ठिकै गरिस यार विदेश नआएर कमसेकम मिठो मसिनो खाएर भएपनि परिवारको साथमा त छस् “।

साथीको यो सब कुराहरू सुनिसक्दा फेरि ती युवाहरूलाई याद गरे जो विदेशिने बहानामा खुसी भएर माइक्रोमा गफित थिए। अनि सोचे त्यति धेरै खुसी भएका ती अनुहारहरु धेरै खुसी भएका ती मनहरु जापान पुगेपछि कस्तो होलान् ? के जापान पुगेपछि त्यत्तिकै अनुहारमा चमक अनि आँखामा देखेका त्यही सपना अनि ओठमा देखिएका मुस्कानहरु त्यही रहलान् त ?

साथीको यतिका वर्षको अन्तरालपछि पनि उस्तै कुराहरू सुनिरहँदा अनि नेपालबाट अनेकन सपनाहरू बोकेर विदेशिएका युवाहरू देखिरहँदा मैले युवाहरूलाई भन्न चाहेँ।

युवा हो अनेकन सपना बोकेर लैलैमा लागेर न बिदेशीउँ। विदेशिने पैसा यही लगानी गरौं। उद्यमी बनौँ सिप सिकौँ,विदेशमा खटिने १८-२० घण्टा यही खटिउँ ,कृषि गरौँ। पशुपालन गरौं ,देशलाई समृद्ध बनाऊँ, पैसा कमाउने अनेक सपना बोकेर विदेशीएर आफू दुःखी अनि परिवार दुखी नबनाउँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*